विर्तामोड २० पुस । नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता स्वर्गीय तुर्सा हेमरमको २४ औं स्मृति दिवस आज सम्पन्न भएको छ । कनकाई नगरपालिका नगर कार्यपालिका नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा स्मृति समारोह आयोजना गरी उहाँको राजनीतिक योगदान र जीवनीबारे चर्चा–परिचर्चा गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले साधा जीवन र उच्च विचार भएका तुर्सा हेमरमले वी.पी. को अत्यन्तै निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।
सन्थाल समुदायमा जन्मिएर हुर्कनुभएका हेमरमले वी.पी. र नेपाली कांग्रेस झापाका पूर्व सभापति समाजवादी चिन्तक सि.के. प्रसाईका अत्यन्तै निकट रहेर राजनीति गरेको स्मरण गर्दै उहाँ प्रजातन्त्रप्रति निष्ठावान रहेको स्मरण गर्नुभयो ।
झापाका पूर्व उपसभापति समेत रहनुभएका स्व. तुर्सा हेमरम वी.पी.का अन्त्यन्तै विश्वासपात्रमध्येका एक मानिने चर्चा गर्दै सभापति थापाले भन्नुभयो–‘वी.पी.ले सबै जातजाति, भाषा–भाषी, वर्ग, क्षेत्र, लिङ्गको सहभागिता पार्टीमा गराउनुभएको थियो । समावेशी सहभागिताको अनुपम नमूना वी.पी.को पालादेखि कांग्रेसमा थियो । अहिले पनि छ ।’
प्रजातान्त्रिक योद्धा तथा तुर्साका समकालीन नेता सुरेश बास्केले हेमरमको जीवनीबारे चर्चा गर्नुभएको कार्यक्रममा स्वागत प्रेममुनी मुर्मु र सञ्चालन शिव कडेलले गर्नुभएको थियो ।
वि.सं. १९८० सालमा जन्मनुभएका तुर्सा हेमरमको वि.सं २०५४ साल पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा हेमरमको स्थायी बसोबास रहेको थियो । प्रजातन्त्र सेनानी सम्मान समेत प्राप्त गर्नुभएका हेमरम अत्यन्तै सामान्य परिवारमा जन्मिएपनि राजनीतिक चेत, विचार र संगठन गर्ने कार्यमा सबल रहेको उनका समकालीन नेताहरु बताउँछन् ।
Discussion about this post