मेचीनगर ११ पुस । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि गरेको संसद विघटन कसैलाई मान्य नहुने र असंवैधानिक रहेको बताउनुभएको छ ।
शनिवार नेपाल पत्रकार महासंघ झापा शाखाको काँकरभिट्टामा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा महासचिव विष्टले लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारको ठूलो योगदान रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो ।
महासचिव विष्टले केपी ओलीको यो कदमले लोकतन्त्र कमजोर बनाउने र यस्तो असंवैधानिक कार्य स्वीकार्य नहुने समेत बताउनुभयो ।
महाचिव विष्टले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पेसाको सुरक्षाका लागि पनि नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने र शसक्त कदम चाल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक रोशन पुरी, महासंघका केन्द्रीय सदस्य माधव चम्लागाई, एक नम्बर प्रदेश महासंघका अध्यक्ष बिक्रम लुइटेल, मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा लगायतले साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिल्मिसिना, प्रेस युनियनकी अध्यक्ष इन्दु पुर्वेली, प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेल, नारी संचार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, प्रेस नेपालका अध्यक्ष देशराज नेम्बाङ, जिल्ला खेलकुद विकास समिति झापाका पूर्वअध्यक्ष शंकर थापा,मेची नगर लेडी जेसीजकी अध्यक्ष तुलसा दंगाल लगायतले मर्यादित पत्रकारितामा जोड दिनुभएको थियो ।
कार्यक्रममा सचिव सन्तोष आचार्यले सांगठानिक र कोषाध्यक्ष इश्वर अधिकारीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुबै प्रतिवेदन सुझावसहित सभाबाट पारित भएको थियो ।
बन्दसत्र सफल बनाउन महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष एकराज गिरीले गरेका थिए । महासंघ झापा शाखा, प्रदेश र केन्द्रको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए । महासंघका पूर्वअध्यक्ष कृष्ण हुमागाँईको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले बन्द सत्रको सहजीकरण गरेको थियो ।
Discussion about this post