काठमाडौं । सरकारले प्राइभेट मेडिकल कलेजले विद्यार्थीहरुलाई पिसिआर गरेर जाँचमा सहभागी गराउने भन्ने निर्णय गरेकोमा यो निर्णय वैज्ञानिक नभएको र आधारले पुष्टि नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले भन्नुभयो–‘लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पिसिआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन हामी अनुरोध गर्दछौं।’ विभिन्न पेसा व्यवसायमा आबद्ध कोही पनि व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ, लक्षण, फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरु, आइसियुमा भर्ना भएकाहरु लगायत स्वास्थ्य मन्त्रालयले बनाएको सीमाबाहेकबा व्यक्तिहरुको कोरोना परीक्षण अवैधानिक भएको गौतमले बताएका छन्।
साथै यस्तो काम नगर्न सबै मेडिकल कलेजलाई मन्त्रालयले आग्रहसमेत गरेको छ। यसो गरे सरकारले गरिरहेको कोभिड नियन्त्रणमा बल नपुर्याउने उहाँले बताउनुभयो । साथै देशभर सञ्चालित सबै प्रयोगशालालाई यसअघि पिसिआर रिपोर्ट ल्याबले नेगेटिभ आए सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आए इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा पठाउने भए पनि आइन्दा पोजेटिभ आए पनि नेगेटिभ आए पनि सम्बन्धित व्यक्तिलाई नै दिन पनि मन्त्रालयले सूचना जारी गरेको गौतमले बताउनुभयो ।
Discussion about this post