झापा । सांसद राजेन्द्र लिङ्देनले मेची अस्पतालको मुख्य भवनमा नै कोरोना संक्रमितलाई राख्नाले सामान्य रोगका विरामीको उपचारमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सांसद लिङदेनले अस्पतालको अवलोकनमा जाँदा देखेको व्यवस्थापनले गम्भीर स्वास्थ्य समस्या आउने देखिएकोे उल्लेख गर्नुभएको छ ।
मेची अस्पतालमा पीसीआर ल्याब स्थापना भइसकेको र कोरोना संक्रमितलाई पनि त्यहीं राख्ने गर्दा सामान्य तथा दीर्घ रोगीहरुको उपचारमा व्यापक प्रभाव परेको उहाँको भनाई छ ।
कोभिडका विरामीका लागि बेड छुट्याउँदा अन्य रोगका विरामीका लागि बेड कम भएको भन्दै उहाँले भन्नुभएके–‘मुख्य भवनमानै कोरोना संक्रमितहरूलाई राख्ने गरि गरिएको व्यवस्थापनका कारण सामान्य तथा दीर्घ रोगीहरुको उपचारमा व्यापक प्रभाव परेको, वेड कटौतीका कारण सर्वसाधारणले भर्ना नपाएर अन्य महंगो निजी अस्पताल चहार्नुपर्ने सास्ती खेपेको देखियो।’
अन्य विकल्पहरु रहेको भन्दै लिङदेनले संक्रमितलाई तत्काल अस्पतालको मुख्य भवनबाट अन्यत्रै व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
यसबाहेक सांसद लिङदेनले लामो समयदेखि अस्पतालमा कार्यरत सफाई तथा सुरक्षा कर्मचारीहरूको अवस्था पनि दयनीय देखियो उल्लेख गर्नुभएको छ ।
मेची अंचलकै पुरानो र ठूलो सरकारी अस्पतालमा कार्यरत यी कर्मचारीहरूको तलव मासिक ६ र ७ हजारमा सिमित हुनु अत्यन्तै लज्जा र पीडाको विषय हो, सरकारले तोकेको न्यूनतम् ज्याला सबै कर्मचारीहरूलाई उपलब्ध गराउन सम्बन्धितको ध्यानाकर्षण गराउँछु, उहाँले भन्नुभएको छ ।
Discussion about this post